बलिउड अभिनेता दिपराज राणाले नेपाली फिल्म “सुख दुःख” मा अभिनय गर्ने

काठमाडौंः बलिउड अभिनेता दिपराज राणाले नेपाली फिल्म सुख दुःख मा अभिनय गर्ने भएका छन्। सन् २००२ मा भारतीय फिल्म साथिया मा सहायक अभिनेताका रूपमा आफ्नो करियर सुरु गरेका दिपराजलाई यस फिल्मकी अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको टिमले अनुबन्ध गरेको हो।

दिपराजले बलिउडका चर्चित फिल्महरू सिंघम रिटर्न्स, प्रेम रतन धन पायो, दबंग ३ लगायत पछिल्लो समय मेट्रो इन डिनो, बिल्ली उस्ताद, सितारे जमीं पर जस्ता फिल्महरूमा अभिनय गरिसकेका छन्। उनी नेपाली फिल्म कोहिनूर मा पनि देखिसकेका छन्। स्वर्गीय श्रीकृष्ण श्रेष्ठको उक्त फिल्ममा लामो समयपछि पुनः नेपाली फिल्ममा दिपराजको उपस्थिति चर्चा बटुल्ने देखिन्छ।

निर्माण पक्षका अनुसार, फिल्म सुख दुःख को कथा निकै मन परेपछि दिपराजले यसमा काम गर्न इच्छुक भएका हुन्। कथा सुनेपछि उनी भावुक समेत भएका थिए। तर, उनको भूमिकाबारे अहिलेसम्म टिमले खुलासा गरेको छैन।

फागुनदेखि छायांकन सुरु गर्ने तयारीमा रहेको यो फिल्मका लागि हालै विपना थापालाई पनि अनुबन्ध गरिएको छ। यसअघि नीता र विपनाले फिल्म ह्रस्वदीर्घ मा सहकार्य गरिसकेका छन्, र यो उनीहरूको दोस्रो सहकार्य हो।

फिल्ममा दिपराज, विपना थापा, मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठ पनि अनुबन्ध भइसकेका छन्। अन्य कलाकारहरूको नाम भने अझै सार्वजनिक गरिएको छैन।

छायांकनका लागि भारतीय चर्चित छायाँकार कवीरलाल र शाहिदलाललाई पनि टिमले अनुबन्ध गरेको छ। नीता फिल्म्सको ब्यानरमा बन्ने यो फिल्म आगामी वर्ष दसैंको फूलपातीबाट प्रदर्शनमा आउने तयारीमा छ।

फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले वितरण गर्नेछ।

यो फिल्म नेपाली फिल्म क्षेत्रमा बलिउड कलाकारको उपस्थिति र सशक्त कथावस्तुको संयोजनका कारण दर्शकको रुचि र उत्साह बढाउने अपेक्षा गरिएको छ।

Share Post on Social media