काठमाडौं — नीता ढुङ्गाना निर्देशित फिल्म ‘सुख दुःख’मा विपना थापा अनुबन्धित
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘सुख दुःख’ मा अभिनेत्री विपना थापा अनुबन्धित भएकी छन्। निर्माण टिमले बुधबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो। यसअघि नीता र विपनाले फिल्म ‘ह्रस्वदीर्घ’ मा सहकार्य गरिसकेका थिए, र ‘सुख दुःख’ उनीहरूको दोस्रो सहकार्य बन्न लागेको हो।


विपनाले फिल्म ‘सुख दुःख’ मा जोडिन पाउँदा आफू निकै खुसी भएको बताइन्। कथाले मन छोएको उल्लेख गर्दै उनले नीताको निर्देशनमा काम गर्न पाउनु आफैँमा प्रेरणादायी अनुभव हुने विश्वास व्यक्त गरिन्।
यता, निर्देशक नीताले पनि विपनालाई आफ्नो फिल्ममा अनुबन्ध गर्न पाउँदा हर्षित भएको प्रतिक्रिया दिइन्। उनका अनुसार फिल्ममा विपनाको भूमिका अत्यन्त महत्वपूर्ण हुनेछ।
यसअघि नै नीताले फिल्मका लागि वरिष्ठ अभिनेत्री मिथिला शर्मा र कलाकार मदनकृष्ण श्रेष्ठलाई अनुबन्ध गरिसकेकी छन्। बाँकी कलाकार तथा प्राविधिक टिमको जानकारी क्रमशः सार्वजनिक गर्दै जाने योजना निर्देशक अधिकारीको रहेको छ।
‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुने फिल्म ‘सुख दुःख’ आगामी फागुनदेखि छायांकनमा जाने तयारीमा रहेको छ। फिल्मको छायांकन चर्चित भारतीय छायांकार कवीरलाल र शाहिदलालले गर्नेछन्। निर्माण टिमले फिल्मलाई आउँदो वर्षको दसैंमा, विशेष गरी फूलपातीको अवसरमा सार्वजनिक प्रदर्शन गर्ने लक्ष्य लिएको छ।
फिल्मको वितरण अधिकार उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले र उपत्यकाबाहिर एफडी कम्पनीले लिएको जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्