‘सिटामोल’को अग्रीम टिकट बुकिङ खुला, QFX मा ३१ शो, देशभर १५० शोको अपेक्षा

काठमाडौं, साउन २१ – आगामी शुक्रबार, साउन २३ गतेदेखि प्रदर्शनमा आउने बहुप्रतिक्षित नेपाली सिनेमा ‘सिटामोल’को अग्रीम टिकट बुकिङ खुला गरिएको छ। राजधानीसहित देशभरका अधिकांश मल्टिप्लेक्स हलले बुकिङ खुला गरिसकेका छन् भने केही हलमा बुकिङ खुल्ने चरणमा छ।

सिनेमाले प्रचार सामाग्रीबाट दर्शक माझ सिर्जना गरेको सकारात्मक हाइपका कारण मल्टिप्लेक्सदेखि सिंगल स्क्रिन हलसम्मले ‘सिटामोल’लाई राम्रो शो दिएका छन्। अग्रीम बुकिङमार्फत दर्शकको चासो देखिएपछि शो थपिँदै जाने निर्माण पक्षको अपेक्षा छ।

देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन QFX सिनेमाजले ‘सिटामोल’लाई काठमाडौं उपत्यकामा १५ शो र मोफसलमा १६ शो दिँदै देशभरका आउटलेटमा ३१ शो समावेश गरेको छ। यस्तै, दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले आफ्ना चार आउटलेटमा ११ शो, बिग मुभिजले २ शो, एफक्युब सिनेमाजले ३ शो, बिएसआर मूभिजले २ शो, वान सिनेमाजले ६ शो, सिने डी सेफले ३ शो र कीर्तिपुर सिनेप्लेक्सले २ शो दिइसकेका छन्।

रञ्जना, विश्वज्योति, सिके सिनेमाजलगायत काठमाडौंका अन्य हलहरू तथा मोफसलका विभिन्न सहरका हलमा पनि बुकिङ खुल्ने क्रममा रहेको छ। यही आधारमा निर्माण टिमले सिनेमा शुक्रबारसम्म १५० भन्दा बढी शोमा प्रदर्शन हुने विश्वास व्यक्त गरेको छ।

स्टारकास्ट र निर्माण पक्ष

राज बहादुर साने निर्देशित सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ। यसै फिल्मबाट श्रीकृष्ण र जानुकाले डेब्यु गरेका हुन्।

तुल्सी देवी फिल्म प्रालिको ब्यानरमा जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको सिनेमामा भूगोल कुमार कार्की र विकास राज जोशी निर्माता रहेका छन्। सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमा प्रदीप भारद्धाज र निर्देशक सानेद्वारा लिखित कथामा आधारित छ। कार्यकारी निर्मातामा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी, सह-निर्मातामा गंगाराम श्रेष्ठ छन्।

प्राविधिक पक्ष

संगीत : बाबुल गिरी

कोरियोग्राफी : कविराज गहतराज

सम्पादन : बन्दे प्रसाद

DI कलर : राजेन्द्र मोक्तान

साउन्ड डिजाइन : मुकेश शाह

द्धन्द्व निर्देशन : देव महर्जन र शंकर महर्जन

पोस्टर डिजाइन : राकेश दाहाल

प्रोडक्सन म्यानेजर : विकास तामाङ र धनबहादुर राई

छायांकन : दिव्य सुवेदी

‘सिटामोल’ले सार्वजनिक पोस्टर, गीत, टिजर र ट्रेलरबाट दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ। यही कारणले गर्दा बक्स अफिसमा राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको हो।

Share Post on Social media