‘भद्रगोल’ का पाँडे अब निर्देशक, ‘झरीपछिको इन्द्रेणी’को शुभमुहूर्त सम्पन्न

काठमाडौं, साउन १५ – चर्चित टेलिभिजन सिरियल भद्रगोल र सक्किगोनी मार्फत दर्शकमाझ लोकप्रियता कमाएका कलाकार तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशनमा डेब्यु गरेका छन्। उनले आफ्नो पहिलो निर्देशकीय सिनेमा ‘झरीपछिको इन्द्रेणी’ को शुभमुहूर्त ललितपुरस्थित धन्तेरी बाराही मन्दिरमा खीर खाने दिनको अवसर पारेर गरेका हुन्।

यसअघि टेलिभिजन क्षेत्रमा सफल यात्रा तय गरेका पाँडेले गत वर्ष फागुन १३ गते प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’ मार्फत फिल्म अभिनयको क्षेत्रमा पाइला चालेका थिए। सो चलचित्र बक्सअफिसमा सफल भएपछि उनी निर्देशनमा प्रवेश गरेका हुन्।

सक्किगोनी टिमबाट मुन्नी मात्रै

‘झरीपछिको इन्द्रेणी’मा सक्किगोनी टिमबाट प्रियाना आचार्य ‘मुन्नी’ मात्र रहनेछिन् भने अन्य कलाकारहरू कथा अनुसार छानिने निर्देशक घिमिरेले जानकारी दिए। फिल्ममा गणेश उप्रेती, निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौलालगायतका कलाकारको अभिनय रहनेछ।

चलचित्रमार्फत करिब ९ वर्षपछि कलाकार गणेश उप्रेती नेपाली रजतपटमा फर्कंदैछन्। “एउटा राम्रो टिमबाट कमब्याक गर्न पाउँदा उत्साहित छु,” उप्रेतीले शुभमुहूर्तमा प्रतिक्रिया दिए।

कथावस्तु र निर्माण पक्ष

पारिवारिक कथावस्तुमा निर्माण हुने यो चलचित्रको छायांकन काठमाडौं, ललितपुर र भक्तपुरमा हुनेछ। चलचित्रको कथा कुमार व्यञ्जनकार ‘कुमार बेन’ले लेखेका हुन् भने पटकथा अर्जुन घिमिरे र विशाल घिमिरेको रहेको छ।

४५ दिनको छायांकन सेड्युल तय गरिएको यो सिनेमा पशुपति शिवजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुँदैछ। फिल्ममा छायांकन बुद्ध थापाले गर्नेछन् भने लगानी सुशील कडरियाको रहनेछ।

बालेन शाहको र्याप र गणेश कार्कीको गीत

चलचित्रका गीतमा रास्वपाका नेता गणेश कार्कीको रचना समावेश गरिएको छ भने एउटा गीतमा काठमाडौं महानगर प्रमुख बालेन शाहको र्याप समेत प्रस्तुत गरिने जनाइएको छ। शुभमुहूर्त कार्यक्रममा बालेन शाहकी पत्नी सविना काफ्लेको उपस्थिति उल्लेखनीय रह्यो। उनले फिल्म युनिटलाई सफलताको शुभकामना दिएकी थिइन्।

अर्जुन घिमिरे स्वयंले चलचित्रमा अभिनय गर्ने वा नगर्ने भन्ने विषयमा भने हालसम्म खुलाइएको छैन।

Share Post on Social media