‘रेलको बाटो’ फिल्म घोषणा : कर्णालीको राजनीतिक र सामाजिक यथार्थलाई पर्दामा उतार्ने प्रयास

काठमाडौं,साउन १५ – कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौतिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित नयाँ नेपाली फिल्म ‘रेलको बाटो’ निर्माण हुने भएको छ। कस्तुरी प्रोडक्सन प्रालिको निर्माणमा र रेड अम्ब्रेला इन्टरटेन्मेन्टको सहकार्यमा बन्ने फिल्मको कथा तथा निर्देशन लक्ष्मण सुनारले गर्नेछन्।

फिल्मको औपचारिक घोषणा गर्दै निर्माण टिमले पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा “गाउँपालिका भवन उद्घाटन” लेखिएको गेट र “प्रधानमन्त्रीको ज्युलाई स्वागत छ” भन्ने ब्यानर देखिन्छ, जसले कर्णालीलाई ‘दर्शनीय प्रयोगशाला’ बनाइने आलोचनात्मक सन्देश दिन खोजिएको बुझिन्छ।

पोस्टरमा उल्लेख गरिएको “लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे” भन्ने भावनात्मक संवादले राज्यको बेवास्ताप्रति तीव्र संकेत गरेको छ। निर्देशक सुनारका अनुसार फिल्ममा एक सामान्य नागरिकको संघर्ष, श्रीमान–श्रीमतीबीचको सम्बन्ध र राज्यको उपेक्षा मुख्य कथा बन्नेछ।

फिल्ममा कर्णालीका सडक अभाव, स्वास्थ्य सेवाको कठिनाइ, विकास योजनामा हुने हस्तक्षेप र शक्ति केन्द्रबाट हुने नजरअन्दाज जस्ता विषयलाई उठान गरिने जनाइएको छ।

फिल्मको संगीत सुरज पण्डितले तयार पार्नेछन् भने छायांकन निसाल पौडेलले गर्नेछन्। पोस्टर डिजाइन राकेश दाहालले गरेका हुन्। कार्यकारी निर्माता नगेन्द्र घिमिरे रहेका छन् भने वितरण अधिकार काफिया फिल्म्सले लिएको छ।

निर्माण टिमका अनुसार, फिल्मको छायांकन यस वर्षको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा गरिनेछ र फिल्म २०८३ सालमा प्रदर्शनमा ल्याउने योजना रहेको छ। हाल फिल्मको पटकथा अन्तिम चरणमा पुगेको र कलाकार छनोट प्रक्रिया अघि बढिरहेको जानकारी दिइएको छ।

यसअघि सार्वजनिक भएको ‘रेलको बाटो’ शीर्षकको म्युजिक भिडियोलाई व्यापक चर्चा मिलिसकेको थियो। निर्माण पक्षका अनुसार फिल्मले “दुरदराजको पीडा र कहिल्यै नआउने रेलजस्तो आशा”लाई पर्दामा जीवन्त रूपमा उतार्नेछ।

Share Post on Social media