‘सुख दुःख’मा मिथिला शर्मा अनुबन्ध, नीता ढुङ्गानाको निर्देशनमा दशैंमा प्रदर्शन हुने
काठमाडौं । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्देशनमा बन्न लागेको फिल्म ‘सुख दुःख’ मा बरिष्ठ अभिनेत्री मिथिला शर्मा अनुबन्ध भएकी छन्। निर्देशक ढुङ्गानाले आइतबार अभिनेत्री शर्मासँग कागजी सम्झौता गर्दै यो जानकारी सार्वजनिक गरेकी हुन्।

फिल्ममा शर्मालाई अनुबन्ध गरेपछि ढुङ्गानाले भनिन्, “चलचित्र ‘सुख दुःख’मा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित छौँ। सायद हजुरबिना यो चलचित्र अपुरो हुन्थ्यो। अब पूर्ण हुने बाटोमा जाँदैछ।”
यसअघि फिल्मका लागि भारतका चर्चित छायाँकार कवीरलाल र शाहिदलाललाई डिओपीका रुपमा अनुबन्ध गरिएको निर्माण पक्षले जानकारी गराएको छ। यद्यपि, फिल्मका अन्य मुख्य कलाकारको नाम भने केही सातापछि सार्वजनिक गर्ने योजना रहेको नीता ढुङ्गानाले बताएकी छन्।
ढुङ्गानाको डेब्यु निर्देशन रहने यस फिल्मको निर्माण व्यवस्थापनको जिम्मेवारी शंकर पाण्डेले सम्हाल्नेछन्। ‘नीता फिल्म्स’को ब्यानरमा निर्माण हुने फिल्म आगामी वर्षको दसैंको फूलपातीको अवसरमा प्रदर्शन गर्ने लक्ष्य लिएको छ।
फिल्मको वितरण अधिकार उपत्यकाभित्र रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले लिएका छन्। फिल्मको अन्य टोली र प्राविधिक पक्षबारे निर्माण पक्षले छिट्टै विस्तृत जानकारी दिने बताइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्