‘मितज्यू’ मा सौगात मल्लको प्रवेश, दयाहाङसँग पुनः सहकार्य
काठमाडौं, साउन १० – अभिनेता सौगात मल्ल नयाँ फिल्म ‘मितज्यू’ मा अनुबन्धित भएका छन्। निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको यस फिल्मका लागि निर्माण टिमले बिहीबार उनलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत बनाएको घोषणा गरेको हो।

यसअघि नै फिल्मका लागि दयाहाङ राई, तेरिया मगर, र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्। सौगात मल्लको आगमनसँगै दयाहाङ र सौगातको पुनर्मिलन हुने भएपछि फिल्मप्रति दर्शकको उत्साह झनै बढेको निर्माण पक्षको विश्वास छ। यी दुई अभिनेता अघिल्ला सफल सहकार्यका कारण पनि दर्शकमाझ लोकप्रिय छन्।
महेश राईद्वारा लिखित कथामा आधारित यो फिल्म ‘घरज्वाइँ’का निर्माता जनक घर्ती मगरको निर्माणमा बन्न लागेको हो। निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरको यो दोस्रो सहकार्य हो।
फिल्मको सिनेमाटोग्राफीमा शिशिर बिशङ्खे रहनेछन्। ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’को ब्यानरमा निर्माण हुने ‘मितज्यू’ मंसिरको दोस्रो साताबाट पोखरा वरिपरि र ढोरपाटन क्षेत्रमा छायांकन सुरु गर्ने तयारीमा छ।
निर्माण पक्षले फिल्मलाई चैत २७ गते देशव्यापी रूपमा प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ। कलाकारहरूको बलियो संयोजन र कथामा रहेको नवीनताले गर्दा ‘मितज्यू’लाई नेपाली फिल्म बजारमा बहुप्रतीक्षित प्रोजेक्टका रूपमा हेरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्