चलचित्र ‘एक्लो’को भव्य सेटअपमा दृश्य छायांकन
काठमाडौँ:- साउन -७ :-वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ को केही महत्वपूर्ण दृश्य काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भव्य सेटअप तयार गरी छायांकन गरिएको छ।





निर्देशक प्रदीप शाहीका अनुसार, झण्डै तीन मिनेट लामो एक सट (one-shot) दृश्य खिच्न करिब ६ घण्टा समय लागेको थियो। उक्त दृश्यमा अभिनेता विजय लामा र अभिनेत्री दिया पुन सहभागी थिए। दृश्यमा पाइलट विजय लामाको अगाडि सवारी दुर्घटनाको झल्को देखाइएको छ, जसमा जम्बीको कारण भिडभाड उत्पन्न भएको देखिन्छ। निर्देशकका अनुसार, यो दृश्य फिल्मको कथामा निर्णायक मोडको रूपमा प्रस्तुत हुनेछ।
सटको प्रकृति जटिल भएकाले कलाकारहरूलाई पटक–पटक दौडिने, अभिनय दोहोर्याउने र दुर्घटनास्थलमा पुग्ने कार्य दोहोरिनु पर्यो। दृश्य बिग्रिएपछि पटक–पटक ‘कट’ भनिनुपर्ने भएकाले धेरै धैर्य र समन्वय आवश्यक परेको थियो।
कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ले यस्तो दृश्य तयार गर्न उच्चस्तरीय योजना र संयम आवश्यक हुने बताए। “सानो त्रुटि हुँदा पनि सम्पूर्ण प्रक्रिया फेरि सुरु गर्नुपर्ने भएकाले समय लाग्यो,” उनले भने।
‘एक्लो’ नेपाली चलचित्र क्षेत्रमा दुर्लभ वैज्ञानिक कल्पना (science fiction) मा आधारित चलचित्र हो, जसमा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा देखिनेछन्। हाल फिल्मको पोस्ट–प्रोडक्सन कार्य लन्डनमा भइरहेको छ र आगामी पुष महिनाको क्रिसमस अवसर पारेर रिलिज गर्ने तयारी भइरहेको छ।
फिल्मको टिजर केही समयअघि सार्वजनिक भइसकेको छ, जसमा प्रदीप खड्कासँगै विजय लामा, दिया पुन, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाललगायतका कलाकारहरूको लुक्स प्रस्तुत गरिएको छ।
उक्त चलचित्रले यसअघि Cannes Film Festival को बजार खण्ड (मार्केट) मा आफ्नो उपस्थिति जनाइसकेको छ, जसले फिल्मप्रति अन्तर्राष्ट्रिय चासो बढाएको छ।
निर्देशन प्रदीप शाहीले गरेका छन्। लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका शाहीले यसअघि दुई नेपाली फिल्म निर्देशन गरिसकेका छन्। ‘एक्लो’ लाई उनले हलिउडस्तरको प्रविधि र प्रस्तुतिमा निर्माण गरिरहेका छन्।
फिल्मका कलाकारहरूमा:
प्रदीप खड्का, विजय लामा, दिया पुन, सुनील थापा, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, आरुषजंग सारु मगर, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ, स्योन सविक सिंह, र बेलायती अभिनेता जेमी बेकन रहेका छन्।
निर्माताहरूमा:
राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति, र शशिकला गुरुङ छन्। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन्।
प्राविधिक पक्षमा:
छायांकन: बाबु श्रेष्ठ
द्वन्द्व निर्देशन: राजु तामाङ
सेट डिजाइन: राजु पेन्टर
कला निर्देशन: सन्तोष लामा
प्रोडक्सन डिजाइन: द्रोण प्रसाद पौडेल ‘ठेउके’
फिल्म ‘एक्लो’ नेपाली सिनेमा इतिहासमा वैज्ञानिक विषयवस्तुमा आधारित उच्चस्तरीय प्रस्तुति दिने गम्भीर प्रयासका रूपमा हेरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्