रहस्य, प्रेम र बदला मिसिएको ‘रिमै’ को टिजर सार्वजनिक, प्रदर्शन मिति एक हप्ता अघि सारियो

काठमाडौं, भदौ – निर्देशक खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको नेपाली सिनेमा ‘रिमै’ को टिजर सार्वजनिक गरिएको छ। करिब २ मिनेटको यो टिजरले एक रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा झल्काउँछ। टिजरसँगै निर्माण टिमले सिनेमाको प्रदर्शन मिति पनि एक हप्ता अघि सारेको छ।

पहिला भदौ २७ गते प्रदर्शन हुने भनिएको सिनेमा अब भदौ २० गते बाट देशव्यापी रूपमा रिलिज हुने भएको हो।

दयाहाङ राई, रिश्मा गुरुङ, अर्पण थापा, र बुद्धि तामाङ लगायतका कलाकारको दमदार उपस्थितिले टिजरमा गहिरो प्रभाव छोडेको छ। ग्रामीण परिवेश, प्रेम, पीडा, संस्कार र बदला मिसिएको कथाले दर्शकमा कौतुहलता जगाएको छ।

टिजरको अन्त्यतिर देखिएको तनावपूर्ण दृश्यले सिनेमामा द्वन्द्व र रहस्यको पाटो पनि प्रमुख हुने संकेत गरेको छ। गुरुङ संस्कार र संस्कृतिलाई विशेष स्थान दिइएको टिजरले फिल्मप्रति दर्शकमाझ उत्साह बढाएको छ।

कलाकार र निर्माण टिम:

गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिवी गुरुङ, टेक गुरुङ, बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगरले अभिनय गरेका छन्।

सिनेमा गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स् प्रा.लि. को प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्ट को सहकार्यमा निर्माण गरिएको हो। उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र ध्वज कार्कीको छायांकन, दीपक शर्मा र थानेश्वर गौतमको संगीत, मित्र डी. गुरुङको सम्पादन रहेको छ।

निर्मातामा टिका गुरुङ, जित यात्री गुरुङ, दुन बहादुर घले, सह-निर्मातामा बिनु गुरुङ, रोशन भट्टराई, राजेश घिमिरे, कार्यकारी निर्मातामा वीरबल घले रहेका छन्।

Share Post on Social media