‘आ बाट आमा’ मा सिमरन पन्त अनुबन्ध, पल शाहसँग बाँधिने नयाँ जोडी
काठमाडौं – निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा अभिनेत्री सिमरन पन्त अनुबन्धित भएकी छन्। निर्माण टिमले उनलाई सोमबार औपचारिक रूपमा अनुबन्ध गरेको हो। फिल्ममा उनी अभिनेता पल शाहसँग नयाँ जोडीको रूपमा देखिँदैछिन्।

यसअघि सिमरनले ‘होस्टेल ३’ मा अभिनय गरेकी थिइन्, जहाँ उनको अभिनयको निकै प्रशंसा गरिएको थियो। ‘आ बाट आमा’ उनको दोस्रो फिल्म हो।
फिल्ममा यसअघि नै अभिनेत्री विपना थापा र तेलुगु, हिन्दी तथा तमिल फिल्मका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्। अभिनेता रावत निर्देशक पन्तकै अघिल्लो फिल्म ‘ह्रस्वदीर्घ’ मा पनि देखिएका थिए। उक्त फिल्ममा उनले अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिका निर्वाह गरेका थिए भने ‘आ बाट आमा’ मा उनी अभिनेता पल शाहका बुबाको भूमिका निभाउनेछन्।
निर्देशक चन्द्र पन्तले यसअघि ‘माई’ र ‘ह्रस्वदीर्घ’ निर्देशन गरिसकेका छन्। ‘ह्रस्वदीर्घ’ मार्फत अभिनेत्री विपना थापा १६ वर्षपछि नेपाली फिल्म क्षेत्रमा फर्किएकी थिइन्, र अब उनी पुनः पन्तकै निर्देशनमा देखिँदैछिन्।
आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने फिल्म आगामी भदौबाट छायांकनमा जाने तयारीमा छ। निर्माता टिमले प्रदीप रावत, विपना थापा, पल शाह लगायत अन्य कलाकार र प्राविधिक टिम पनि चाँडै टुंगो लगाइने जानकारी दिएको छ।
फिल्मको थिम पोस्टर एक महिना अघि सार्वजनिक भइसकेको छ। निर्देशक पन्तका अनुसार ‘आ बाट आमा’ आगामी फागुन १५ गते बाट देशभर प्रदर्शनमा आउने तय भइसकेको छ।
© Adrisya Sanchar

आफ्नो प्रतिक्रिया दिनुहोस्