‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक, सौगात–बेनिशाको भावुक प्रस्तुती
काठमाडौं, साउन १ –
आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक गरिएको छ।

बुधबार सार्वजनिक गरिएको उक्त गीतमा सिनेमाका मुख्य कलाकारहरू सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, तथा संगीतकार बाबुल गिरीको अभिनय देख्न सकिन्छ।
गीतमा बाबुल गिरीको संगीत तथा स्वर रहेको छ भने शब्द रचना गोविन्द भट्टले गरेका हुन्। भावनात्मक र मर्मस्पर्शी यो गीतमार्फत गायक तथा संगीतकार गिरीले नेपाली रजतपटमा अभिनय डेब्युसमेत गरेका छन्।
यसअघि सार्वजनिक टिजरमा समावेश सानो अंश सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भाइरल बनेपछि दर्शकको माग अनुसार निर्माण टिमले पूरै गीत सार्वजनिक गरेको हो। टिजर र अघिल्लो गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाएको सन्दर्भमा यो गीतले चलचित्रको हाइप झन् बढाउने निर्माण पक्षको विश्वास छ।
सिनेमाका निर्देशक तथा निर्माता राज बहादुर सानेका अनुसार ‘सिटामोल’ले नेपाली समाजमा गहिरो रूपमा जरा गाडेर बसेका कुसंस्कार र सामाजिक अन्यायको चिरफार गर्ने प्रयास गरेको छ।
फिल्मले बिम्बात्मक शैलीमा नेपाल र आम नेपाली जनजीवनको यथार्थ प्रस्तुत गर्दै दर्शकको मन जित्ने लक्ष्य लिएको निर्देशक सानेले बताएका छन्।
सिनेमामा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ।
श्रीकृष्ण र जानुकाले यसै चलचित्रबाट रजतपटमा डेब्यु गरेका हुन्।
तुल्सी देवी फिल्म प्राली र जुनतारा फिल्म्सको सहकार्यमा निर्माण भएको सिनेमाको कथा प्रदीप भारद्धाज र निर्देशक सानेले लेखेका हुन्।
सिमोस सुनुवारको प्रस्तुति रहेको फिल्ममा भूगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सह–निर्माता छन्।
सिनेमामा बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको डिआई, मुकेश शाहको साउण्ड डिजाइन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जन र शंकर महर्जनको द्वन्द्व निर्देशन, राकेश दाहालको पोस्टर डिजाइन, विकास तामाङ र धनबहादुर राईको प्रोडक्सन व्यवस्थापन तथा दिव्य सुवेदीको छायांकन रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्