दिया पुन ‘मैझारो’मा अनुबन्धित, विल्सन विक्रम राईको निर्देशनमा बन्ने फिल्म

काठमाडौं — अभिनेता तथा निर्देशक विल्सन विक्रम राई (तक्मेबुढा) को निर्देशनमा बन्ने नयाँ फिल्म ‘मैझारो’ मा अभिनेत्री दिया पुन पनि अनुबन्धित भएकी छन्। निर्माण पक्षले शनिबार उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो।

यसअघि नै अभिनेता धिरज मगर र अभिनेत्री मिरुना मगर फिल्मका लागि अनुबन्धित भइसकेका थिए। अब मुख्य तीन पात्रका रूपमा धिरज, मिरुना र दियाको टिम फाइनल भएपछि फिल्मको कलाकारहरूको सूची क्रमशः विस्तार हुँदै गएको छ।
निर्देशक राईले भने, “कथाले मागेअनुसार दियालाई अनुबन्ध गरेका हौं। अन्य कलाकार पनि छानिँदैछन्।” निर्माण टिमका अनुसार केही दिनभित्रै बाँकी कलाकारहरूको टुंगो लाग्नेछ।
‘मैझारो’ पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थमा आधारित कथा बोकेको फिल्म हो। साउन पहिलो साताबाट छायांकन सुरु हुने फिल्म ईलाम र पाँचथरका रमणीय स्थानहरूमा खिचिने बताइएको छ।
तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा संगीत अनमोल गुरुङ र तोरेम्पा हाङ राईले दिनेछन् भने गीतहरूमा राजेश पायल राई, अस्मिता अधिकारी, झुमा लिम्बू र अनमोल गुरुङकै स्वर रहनेछ। छायांकनको जिम्मा चर्चित छायाँकार सौरभ लामाले लिएका छन्।
निर्देशक राईका अनुसार ‘मैझारो’ लेखन र निर्देशन दुवैमा उनको डेब्यु फिचर फिल्म हो। यसअघि तक्मे प्रोडक्सनले हास्य सामग्री र सांगीतिक प्रस्तुति निर्माण गर्दै आएको भए पनि, यो कम्पनीको पहिलो ठुलो पर्दाको फिचर फिल्म हुनेछ।
आफ्नो प्रतिक्रिया दिनुहोस्