‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवालको इन्ट्री
काठमाडौं:-अदृश्य संचार ,नेपाली चलचित्र उद्योगमा छुट्टै पहिचान बनाएका निर्देशक दीपेन्द्र लामाले आफ्नो नयाँ फिल्म ‘मुनामदनको ब्रेकअप’ को औपचारिक घोषणा गरेका छन्। फरक शीर्षकसहित दर्शकमा चासो जगाउने प्रयासस्वरूप निर्माण हुन लागेको यस फिल्ममा सामीप्यराज तिमिल्सिनाको पटकथा रहनेछ भने कार्यकारी निर्माता श्रीधर पौडेल रहनेछन्।

सन् २०७५ मा आएको ‘गोपी’ पछि लामो समयपछि पत्रकारिताबाट फिल्म क्षेत्रमा आएका तिनै टिम पुनः सहकार्य गर्न लागेका हुन्।
फिल्ममा हालसम्म अभिनेता राज कटुवाल मात्र फाइनल भएका छन्। उनी यसअघि ‘नरसिंहा अवतार’ जस्ता फिल्ममार्फत दर्शक माझ आइसकेका छन्। निर्देशक लामाका अनुसार अन्य कलाकार छनोटको प्रक्रिया टुंगिन बाँकी छ।

‘कटुवालको पात्र स्क्रिप्टसँग मिल्दो भएकाले उनलाई अनुबन्धित गरिएको हो,’
निर्देशक लामाले बताए,
‘बाँकी कलाकार पनि कथा र चरित्रको प्रकृति हेरेर नै छानिनेछन्।’
फिल्मको कथावस्तु
लेखक सामीप्यराज तिमिल्सिनाका अनुसार ‘मुनामदनको ब्रेकअप’ ग्रामीण परिवेशमा आधारित प्रेमकथा हुनेछ।
‘फिल्ममा पछिल्लो समय प्रचलित प्रेमकथाभन्दा पृथक स्वाद पाइनेछ,’
तिमल्सेनाले भने,
‘दर्शक हलसम्म ल्याउन कठिन भएको यो समयमा हामी पटकथालाई अझ जीवन्त बनाउनमा केन्द्रित छौं।’
अभिनय र निर्माण पक्ष
राज कटुवाल यो फिल्मलाई लिएर उत्साहित छन्।
‘यो भूमिकाले मलाई कलाकारका रूपमा अझ निखारिने मौका दिनेछ,’
उनले बताए,
‘यस पटकको भूमिका चुनौतीपूर्ण छ र म त्यसका लागि तयारीमा छु।’
कार्यकारी निर्माता श्रीधर पौडेलका अनुसार फिल्मको छायांकन कास्की जिल्लाको ग्रामीण क्षेत्रहरूमा गरिनेछ।
‘स्क्रिप्ट र प्रिप्रोडक्सन चरण पूरा भएपछि मात्रै छायांकन सुरु गर्ने योजना छ,’
पौडेलले जानकारी दिए,
‘हामी दर्शकलाई सशक्त र फरक स्वादको सिनेमाटिक अनुभव दिन चाहन्छौं।’
निर्देशकको अनुभव
‘घामपानी’ बाट निर्देशन यात्रा सुरु गरेका दीपेन्द्र लामाले ‘दुखी आत्मा’ सहित ६ वटा फिल्म निर्देशन गरिसकेका छन्। नयाँ फिल्मलाई उनले मनोरञ्जक र विचारपूर्ण शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस्