‘जहाजैमा’मा वर्षा सिवाकोटी अनुबन्धित, फागुन १ गतेदेखि देशव्यापी प्रदर्शन
काठमाडौं — निर्देशक कृषा चौलागाईको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘जहाजैमा’ मा अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी छन्। निर्माण टिमले शनिबार एक कार्यक्रममार्फत् उनलाई औपचारिक रूपमा अनुबन्ध गरेको हो।

फिल्ममा अनुबन्ध भएपछि अभिनेत्री सिवाकोटीले कथा र टिम मन परेकाले काम गर्न सहमति जनाएकी हुन्। साथै, उत्कृष्ट टिमसँग काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरेकी छन्।
यसअघि नै केदार घिमिरे ‘माग्ने बुढा’, सौगात मल्ल, कर्मा शाक्य र जापानी अभिनेत्री रुजेल इचिमिया फिल्ममा अनुबन्धित भइसकेका छन्। अन्य कलाकारहरूको चयन अन्तिम चरणमा रहेको निर्माण पक्षले जनाएको छ।
फिल्मको कथा अभिमन्यू निरवीले लेखेका हुन् भने छायांकन निर्देशक (डीओपी) को जिम्मेवारी पुरुषोत्तम प्रधानले सम्हाल्नेछन्। फिल्म उज्ज्वल गुरागाईंको निर्माणमा यूएनए प्रोडक्सनको ब्यानरमा तयार हुँदैछ, जसमा केपी फिल्म्सले सहकार्य गरेको छ।

फिल्मको छायांकन भदौ महिनाबाट जापानमा सुरु हुने बताइएको छ। नेपाल, जापान र फिलिपिन्सका विभिन्न स्थानमा छायांकन हुने फिल्मको प्रि-प्रोडक्सन तीव्र गतिमा अगाडि बढिरहेको निर्माण पक्षले जनाएको छ।
निर्माण टिमले छायांकन सुरु हुनुअघि नै फिल्मको प्रदर्शन मिति समेत सार्वजनिक गरिसकेको छ। आर.आर फिल्म्ससँग सहकार्य गर्दै फिल्म फागुन १ गतेदेखि देशभर प्रदर्शनमा ल्याइने छ। वितरणको जिम्मेवारी आर.आर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले सम्हाल्नेछन्।

आफ्नो प्रतिक्रिया दिनुहोस्