‘दान्भी’ पछि निर्देशक रुपेश तामाङको नयाँ फिल्म ‘एक्का तीन’को घोषणा

काठमाडौं, असार २७, २०८२ :-निर्देशक रुपेश तामाङले आफ्नो नयाँ फिल्म ‘एक्का तीन’ निर्माणको औपचारिक घोषणा गरेका छन्। गत वर्षको फिल्म ‘दान्भी’ निर्देशन गरेका रुपेशले यसपटक झनै सशक्त कथावस्तु, एक्सन र सस्पेन्सलाई आधार बनाएर फिल्म बनाउन लागेका हुन्।

‘एक्का तीन–च्याप्टर १’ शीर्षक दिइएको यो फिल्मलाई जुना फिल्म्सको प्रस्तुति रहनेछ भने सुमन गजमेरले फिल्मको लेखन गर्नेछन्। फिल्म सन् २०२६ मा प्रदर्शन गर्ने तयारी गरिएको निर्माण पक्षले जानकारी दिएको छ।

सार्वजनिक गरिएको थिम पोस्टरमा हेलिकप्टर, ठूलो विष्फोट, र तीन जना पात्र (दुई पुरुष र एक महिला) देख्न सकिन्छ। यसले फिल्मको कथा एक्सन र रहस्यमा भरिएको संकेत गर्छ।

फिल्ममा नायिका पूजा शर्माको मुख्य भूमिका रहने पक्का भइसकेको छ भने अन्य कलाकारको विवरण छिट्टै सार्वजनिक गरिने बताइएको छ।

निर्देशक रुपेश तामाङका अनुसार, ‘एक्का तीन’ उनको अघिल्लो अनुभवको सुधारसहितको प्रस्तुति हुनेछ। उनले भने, “मैले अघिल्ला प्रोजेक्टमा भएका कमीकमजोरीलाई गम्भीरतापूर्वक बुझेको छु। अबको यो फिल्ममा दर्शकले नयाँ स्वाद पाउनेछन्।”

हाल फिल्मको प्रि–प्रोडक्सन तीव्र गतिमा भइरहेको छ भने छायांकन चाँडै सुरु हुने तयारीमा छ।

‘एक्का तीन’लाई ‘च्याप्टर १’ भनेर उल्लेख गरिनुले यसको दोस्रो भाग पनि निर्माण हुने संकेत गरिएको छ।

Share Post on Social media