सनिशा भट्टराई ‘सकम्बरी’को भूमिकामा, ‘शिरीषको फूल’ मार्फत रंगमञ्चमा डेब्यु
काठमाडौं – अभिनेत्री सनिशा भट्टराई अब रंगमञ्चमा पनि आफ्नो अभिनय यात्रा सुरु गर्न लागेकी छिन्। चलचित्र ‘बाह्रगाउँ’ र ‘नरसिंह अवतार’ मा अभिनय गरेर दर्शकको ध्यान खिचिसकेकी सनिशा अब कान्तिपुर फिल्म एकेडेमी द्वारा निर्माण हुन लागेको नाटक ‘शिरीषको फूल’ मा मुख्य पात्र ‘सकम्बरी’ को भूमिकामा देखिँदैछिन्।

साहित्यकार परिजात द्वारा लिखित उपन्यास ‘शिरीषको फूल’ मा आधारित यस नाटकको निर्देशन तथा मञ्चनको तयारी तीव्र रुपमा अगाडि बढिरहेको छ। पात्रको गहिरो भावभूमिमा प्रवेश गर्न आवश्यक अनुसन्धान, अभ्यास र समर्पणमा अभिनेत्री भट्टराई सक्रिय रहेको टोलीले जनाएको छ।
यस नाटकमार्फत् उनी पहिलोपटक रंगमञ्चमा देखा पर्दैछिन्, जुन कुरा आफैंमा दर्शकका लागि रोमाञ्चक र प्रतीक्षायोग्य बन्न पुगेको छ। उनी रंगमञ्चमा अभिनेता जीवन लुइँटेल (सुयोगवीर) सँग मञ्च साझा गर्दैछिन्।
कान्तिपुर थिएटर टिमले एक औपचारिक वक्तव्य जारी गर्दै भनेको छ, “चरित्रको बुझाइ र तयारीप्रति उनले देखाएको उत्सुकता र तत्परताको उच्च मूल्याङ्कन गर्दै हामी सनिशा भट्टराईलाई ‘सकम्बरी’को भूमिकामा स्वागत गर्दछौं।”
‘शिरीषको फूल’ नाटक साहित्य, सम्वेदना र सामाजिक सन्देशले भरिपूर्ण छ। त्यसमा सकम्बरीको भूमिका गहन मनोवैज्ञानिक तहसम्म पुग्ने संवेदनशील पात्र हो, जसलाई न्याय दिन सक्षम कलाकारको खोजी थिए। टिमले विश्वास लिएको छ कि सनिशाले उक्त भूमिका प्रभावशाली रुपमा प्रस्तुत गर्नेछिन्।
नाटक मञ्चन मिति र स्थान चाँडै सार्वजनिक गरिने जानकारी आयोजक पक्षले दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्