नेपाल, भारत र पाकिस्तानमा एकैसाथ रिलिज हुँदै ‘कल्ली’
काठमाडौं,असार २३ :-लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा निर्माणाधीन नेपाली फिल्म ‘कल्ली’ आगामी फागुन १ गते नेपाल, भारत र पाकिस्तानमा एकसाथ रिलिज हुने भएको छ। नेपाली र हिन्दी दुवै भाषामा निर्माण गरिएको यो फिल्म नेपालमा नेपाली भाषामा रिलिज हुने भए पनि भारत र पाकिस्तानमा भने हिन्दी भाषामा प्रदर्शन गरिनेछ।

निर्माता किरण नेपालीका अनुसार भारतमा फिल्म एम.के. फिल्म डिस्ट्रीब्युशन र पाकिस्तानमा हिप्पो फिल्मस्ले वितरण गर्ने छन्। नेपालमा भने काफिया र कुबेर फिल्मस्ले वितरणको जिम्मा लिएका छन्। यद्यपि, नेपालमा हिन्दी भर्सन रिलिज हुने छैन।

‘कल्ली’ फिल्मको फस्टलुक सार्वजनिक भएसँगै बजारमा यसको व्यापक चर्चा सुरु भइसकेको छ। अहिले फिल्मको पोष्ट प्रोडक्सनको काम तीव्र गतिमा चलिरहेको निर्माणपक्षले जानकारी दिएको छ।
लेकाली इन्टरटेन्मेन्ट प्रा.लि. र कस्तूरी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्ममा महेश दवाडीको लेखन रहेको छ।
कलाकारहरूको जमघट :
फिल्ममा सौगात मल्ल, उत्तम प्रधान, वेनिशा हमाल, नाजिर हुसेन, अर्पण थापा, वर्षा राउत, सुलक्षण भारती लगायतको अभिनय देख्न पाइनेछ।
संगीत पक्ष पनि सबल :
फिल्ममा आशिष अविरल, सरिता राई र केतन क्षेत्रीको संगीत समावेश छ।
फिल्म ‘कल्ली’ लोभको कथा बोकेको बताइएको छ। लोभले मानिसको जीवनलाई कहाँबाट कहाँ पुर्याउँछ भन्ने कथामा आधारित यो फिल्म दर्शकलाई जीवन दर्शनको गहिरो सन्देश दिन सफल हुने निर्माणपक्षको विश्वास छ। “फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखिएको छैन,” निर्माता किरण नेपालीले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस्