दयाहाङ राई ‘पेन्सनपट्टा’मा अनुबन्धित, माओत्से गुरुङको दोस्रो निर्देशनमा दोहोरिएको सहकार्य

काठमाडौं, असार १८ — चर्चित अभिनेता दयाहाङ राई निर्देशक माओत्से गुरुङको निर्देशनमा बन्ने दोस्रो नेपाली चलचित्र ‘पेन्सनपट्टा’ मा अनुबन्धित भएका छन्। यो दुवैको दोस्रो सहकार्य हो। यसअघि गुरुङको डेब्यु निर्देशन ‘दयारानी’ मा पनि दयाहाङ प्रमुख भूमिकामा देखिएका थिए।

दयारानी ले बक्सअफिसमा राम्रो व्यापार गर्नुका साथै समीक्षकको प्रशंसा बटुलेपछि, निर्देशक गुरुङ र अभिनेता राईबीचको यो पुनः सहकार्यप्रति दर्शकको चासो बढ्न थालेको छ। निर्देशक गुरुङका अनुसार, “दोस्रो सहकार्यलाई अझ परिस्कृत रूपमा प्रस्तुत गर्दै अर्को उत्कृष्ट सिनेमाको अनुभव दर्शकलाई दिने प्रयास हुनेछ।

‘पेन्सनपट्टा’ : लोभीबाट दानी बन्ने यात्राको कथा

चलचित्रको शीर्षक सुन्दा पूर्वलाहुरेको कथा जस्तो लागे पनि, ‘पेन्सनपट्टा’ ले एक लोभी युवक कसरी दानी बन्छ भन्ने भावनात्मक र प्रेरणादायी कथा भन्ने निर्देशक गुरुङले जानकारी दिएका छन्।

चलचित्रको सम्पूर्ण छायांकन कास्कीको पोखरा र वरपरका क्षेत्रहरूमा गरिनेछ। सुशन प्रजापति द्वारा खिचिने सिनेमाका कास्टिङ डाइरेक्टर सुरज तमु रहेका छन्। अन्य कलाकारहरूको नाम छिट्टै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङ ले जानकारी दिए।

गुरुङ भाषादेखि मुख्यधारसम्म : माओत्सेको यात्रा

पहिला गुरुङ भाषाका चलचित्रमार्फत निर्देशन यात्रा थालेका माओत्से गुरुङ पछिल्ला दिनमा मुख्यधारका चलचित्रमा पनि सक्रिय हुँदै आएका छन्। कलाकार, लेखक, निर्देशक र निर्माताका रूपमा चिनिँदै आएका गुरुङ चरित्र अभिनेता/कलाकारका रूपमा समेत दर्शकको पहिलो रोजाइमा पर्दै आएका छन्।

चलचित्र ‘पेन्सनपट्टा’ माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुनेछ। कथा स्वयं गुरुङले लेखेका हुन्। निर्माण टोलीका अनुसार चलचित्र कार्तिक तेस्रो साताबाट फ्लोरमा जाने तयारीमा छ।

Share Post on Social media