फिल्म ‘यो मन त मेरो नेपाली हो’ लाई पाठ्यक्रम विकास केन्द्रको शुभकामना, विद्यालयस्तरका बालबालिकालाई हेर्न उपयुक्त सुझाव

काठमाडौं, असार १७
नेपाली भाषा र संस्कृतिको प्रवर्धनमा समर्पित नयाँ नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ लाई नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले विशेष शुभकामना सन्देश पठाएको छ।
श्री पद्मा ईश्वर इन्टरटेनमेन्ट, बागबजारले निर्माण गरेको यस चलचित्रको प्रशंसा गर्दै केन्द्रको समकक्षता तथा मूल्याङ्कन शाखाले ‘शुभकामना सम्बन्धमा’ विषयक आधिकारिक पत्रमार्फत चलचित्रप्रति सकारात्मक दृष्टिकोण व्यक्त गरेको हो।
पत्रमा भनिएको छ, “यो चलचित्र विशुद्ध नेपाली भाषा र संस्कृतिमा आधारित भएकोले समाजमा सकारात्मक प्रभाव पार्नसक्ने खालको छ। यस्ता चलचित्रलाई राज्यका निकाय तथा सामाजिक संघ-संस्थाले संरक्षण र सम्वर्द्धन गर्नुपर्ने देखिन्छ।”
बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृतिप्रति गर्व गर्ने भावनाको विकास गर्न यो चलचित्र विशेष उपयोगी हुने उल्लेख गर्दै विद्यालय स्तरमा पनि चलचित्र प्रदर्शन गर्न सरोकारवाला निकायको अनुमति लिई देखाउनु उपयुक्त हुने सुझाव पत्रमा उल्लेख गरिएको छ।

आगामी असार २७ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन (मन्त्री), सुबास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजबंशी, भानुभक्त सिटौला लगायत कलाकारको अभिनय रहेको छ।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर)को निर्देशन रहेको चलचित्रमा ज्ञानबहादुर प्रधान (रोशन) निर्माता रहेका छन् भने मित्र प्रधान स्वयं प्रस्तुतकर्ता हुन्।
चलचित्रमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको VFX, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिश शाहको सम्पादन रहेको छ। CGI विभागको नेतृत्व सत्यम रानाले गरेका छन्।
संगीतमा दिपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको योगदान रहेको छ भने गीतका शब्दमा दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायल र ‘खैजडी गीत’का लागि अनिश अधिकारीको शब्द संकलन रहेको छ।
फिल्मको वितरण आर आर फिल्म्सले गर्दैछ।
आफ्नो प्रतिक्रिया दिनुहोस्