‘द ब्लू लाइट’ को छायांकन २५ दिनमै सम्पन्न, निर्देशक बलिराम चौहानको डेब्यु फिल्म

काठमाडौं, असार १४ –
साइकोलोजिकल थ्रिलर विधामा निर्माण भइरहेको नेपाली चलचित्र ‘द ब्लू लाइट’ को छायांकन सफलतापूर्वक सम्पन्न भएको छ। जेठ २२ गते सुरु भएको फिल्मको छायांकन राजधानीका विभिन्न स्थानहरूमा सम्पन्न गरिएको हो, र जम्मा २५ दिनभित्र छायांकन प्रक्रिया टुंग्याइएको निर्माण पक्षले जनाएको छ।

निर्देशनमा बलिराम चौहानको डेब्यु रहेको यस फिल्ममा उनी पूर्व सफल फिल्म ‘बलिदान’ का लेखक तथा सहायक निर्देशकका रूपमा काम गरिसकेका छन्। चौहानले कलाकारहरूको अभिनय र टोलीको समर्पणले आफूले कल्पना गरेको कथा पर्दामा सजीव रूपमा उतार्न सकेको प्रतिक्रिया दिएका छन्।
स्काइफल पिक्चर्सको ब्यानरमा तयार भएको चलचित्रमा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ। बाल कलाकार ग्रिसमा कटुवाल र सहारा शर्मा पनि फिल्ममा देखिनेछन्।
फिल्ममा रमन ग्रे सह-निर्माताको रूपमा संलग्न छन् भने कार्यकारी निर्मातामा नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन्। छायांकन सकिएपछि सामाजिक सञ्जालमार्फत अभिनेत्री हमालले भावुक हुँदै लेखेकी छन् –
“अनुशासित, समर्पित र जोशिलो टोलीसंग काम गर्ने अवसर पाएकोमा खुसी छु। मैले निभाएको पात्र मेरो जीवनमा सधैं रहनेछ।”
फिल्मको पोस्ट-प्रोडक्सन प्रक्रिया सुरु भइसकेको र चाँडै नै प्रदर्शन मिति र थप विवरण सार्वजनिक गरिने जानकारी दिइएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्