‘हली’को ‘चान्स पाएँ त’ गीत सार्वजनिक, स्टारहरुको धमाकेदार नृत्य

काठमाडौं, असार १३ –
सुभ चिरायू फिल्मस् र जापुरा फिल्मस् प्रोडक्सनको सहकार्यमा निर्माण भइरहेको बहुप्रतीक्षित चलचित्र ‘हली’ को प्रमोशनल गीत ‘चान्स पाएँ त’ आज राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।

बाबुल गिरी र शान्ती श्री परियारको सुमधुर स्वर, जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीकै संगीतमा तयार भएको यो गीतलाई निकै कर्णप्रिय र आकर्षक बनाइएको छ। कविराज गहतराजको कोरियोग्राफीमा तयार भएको गीतमा नेपालका चर्चित कलाकारहरूको ऊर्जाशील प्रस्तुति देख्न सकिन्छ।

भिडियोमा फिल्मका प्रमुख कलाकार प्रमोद दीप सँगै दीपाश्री निरौला, प्रियंका कार्की, पूजा शर्मा, किरण केसी र दीलिप रायमाझीको छमछमी नृत्य प्रस्तुत गरिएको छ। गीतले फिल्मप्रति दर्शकको उत्सुकता अझ बढाएको छ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भइरहेको फिल्म वास्तविक घटनाबाट प्रेरित भएको बताइएको छ। नम्रता भण्डारी सह-निर्माताको रूपमा जोडिएकी छन् भने अर्जुन भुसाल कार्यकारी निर्माताका रूपमा संलग्न छन्।

चलचित्रमा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ।

फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भट्टaraiको संगीत, कुमार महर्जनको एक्सन निर्देशन तथा कविराज गहतराज र ओम प्रतिकको कोरियोग्राफी छ। छायांकन राहुल राइले गरेका हुन् भने प्रमोशनल गीतको सम्पादन विपिन मल्लले गरेका छन्।

कार्यक्रममा बोल्दै निर्मात्री जश्मिन श्रेष्ठले फिल्म ‘हली’ देशमा सकारात्मक परिवर्तन ल्याउन सक्ने पात्रको कथा रहेको बताउँदै दर्शकको साथ पाए निरन्तर फिल्म निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।

Share Post on Social media