‘यो मन त मेरो नेपाली हो’ ट्रेलर सार्वजनिक, नेपाली भाषा र संस्कृतिको संरक्षणमा केन्द्रित कथा

काठमाडौं, असार १३ –
राजधानीमा सम्पन्न एक कार्यक्रमबीच चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरमा नेपाली भाषा, साहित्य, कला, र संस्कृति प्रतिको प्रेम तथा संरक्षणको भाव प्रस्तुत गरिएको छ।

चलचित्रका निर्देशक मित्र प्रधानले यो सिर्जना नयाँ पुस्तालाई नेपाली भाषा, संस्कार र संस्कृतिको महत्त्व बुझाउने उद्देश्यले निर्माण गरिएको बताए।
निर्माता तथा अभिनेता रोशन श्रेष्ठले चलचित्रलाई सबै नेपालीले एक पटक अवश्य हेर्नु पर्ने भन्दै यसको विषयवस्तुले सबैलाई छुने विश्वास व्यक्त गरे।

त्यसैगरी, अभिनेता विजय बरालले यो फिल्म फरक शैलीको भएको र यसले नेपाली भाषिक पहिचानलाई मजबुत बनाउने बताए। चर्चित हास्यकलाकार तथा अभिनेता विल्सन विक्रम राईले आफूले चलचित्रको कथासँग मेल खाने गीत लेखेको खुलाउँदै, कथावस्तुले उनलाई गहिरो रूपमा छोएको बताए। चलचित्रकी नायिका आयुषा समालले विदेशमै बसेर पनि नेपाली भाषा सिक्ने र जोगाउने प्रयास आफूले गरिरहेको बताइन्।

असार २७ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रमा
रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन (मन्त्री), सुबास भण्डारी, विजय सुब्बा, बिजिता परियार, देवराज राजबंशी, र भानुभक्त सिटौलालगायतको अभिनय रहेको छ।

ईश्वर इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा मित्र प्रधान प्रस्तुतकर्ता र ज्ञानबहादुर प्रधान (रोशन) निर्माता रहेका छन्।
चलचित्रको निर्देशन अमेरिकामा बसेर साहित्य साधनामा लागिरहेका मित्र प्रधानले गरेका हुन् भने कथालेखन शिवम् अधिकारीको रहेको छ।

सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, समिर मियाको भिएफएक्स, कबिराज गहतराज र प्रमोद भण्डारीको नृत्य निर्देशन, बनिश शाहको सम्पादन, र सत्यम रानाको सिजिआइ कार्य रहेको छ।
दिपक शर्मा, विकास चौधरी, र थोरम्पो ह्याङ राईको संगीत, शब्दमा दिपक शर्मा, विल्सन विक्रम राई, शंकर अधिकारी घायल तथा अनिश अधिकारीको योगदान रहेको छ।

चलचित्रको वितरण आर आर फिल्म्सले गर्नेछ।

Share Post on Social media