“चन्द्रलाइ कसले मार्‍यो?” : लेखक तथा निर्देशक सन्दीप श्रेष्ठको दोस्रो नाटक मण्डलामा मञ्चन हुँदै

काठमाडौं, असार १४ –
सन् २०१७/१८ तिर पहिलो नाटक ‘चिसो भञ्ज्याङ’ निर्देशन गरेर मण्डला थिएटरमा सशक्त उपस्थित जनाएका सन्दीप श्रेष्ठ फेरि मञ्चमा फर्किन लागेका छन् — यसपटक एक गहिरो र आत्मीय कथा लिएर, शीर्षक ‘चन्द्रलाइ कसले मार्‍यो?’।

सन्दीपको नाटकीय यात्रा सजिलो थिएन। पहिलो नाटकपछि अर्को प्रोडक्सनको प्रयास पटक–पटक भयो, तर सीमित स्रोत, निर्माता नहुनु, शक्तिशाली सम्बन्ध र विशेष पहुँचको अभावले गर्दा उनका पाइला प्रायः रोकिन्थे। त्यस्ता चुनौतीहरूको बीचबाट उनले आफैंलाई बनाउँदै लगे — र आज, वर्षौंको सपना साकार गर्दै मञ्चमा पुनः उभिन लागेका छन्।

मण्डला थिएटर नेपालको प्रस्तुति रहेको यो नाटकमा लेखन, परिकल्पना र निर्देशन सन्दीप श्रेष्ठले नै गरेका हुन्। नाटक असार २५ गतेदेखि साउन १८ गतेसम्म मण्डला थिएटर, थापा गाउँ बानेश्वरमा मञ्चन हुनेछ।

प्रति दिनको नियमित शो साँझ ५:३० बजे हुनेछ,

शनिबारको दिन दिउँसो १:१५ बजे विशेष अतिरिक्त प्रदर्शन समेत हुनेछ।

पोस्टरमा देखिएको गहिरो कला र कथाको झलकले नै दर्शकहरूलाई सोच्न बाध्य बनाइसकेको छ। नाटकको विषयवस्तु, शैली र प्रस्तुतीकरण दर्शकलाई मन छुनेछ भन्ने विश्वास निर्माण भएको छ।

सन्दीप श्रेष्ठ लेख्छन् –
“मसँग ठूलाठूला निर्माता थिएनन्, पहुँच थिएन, तर मसँग सपना थियो। त्यो सपना पूरा गर्न मण्डला थिएटर र यहाँका मान्छेहरू मेरो साथमा उभिए। अब त्यो सपना देखाउने बेला आएको छ।”

यो नाटक नाटककार सन्दीप श्रेष्ठको मात्र होइन, नेपाली नाट्यकला क्षेत्रमा संघर्षरत सर्जकहरूको पनि प्रतिनिधि कथा हो। ‘चन्द्रलाइ कसले मार्‍यो?’ केवल एक नाटक होइन, एउटा प्रश्न हो, जुन दर्शकको मनमस्तिष्कमा बजिरहनेछ।

थप जानकारीका लागि
🎟 टिकट अनलाइन र थिएटरमै उपलब्ध

Share Post on Social media