‘जहाजैमा’ सिनेमामा माग्ने बुढाको इन्ट्री, जापानी अभिनेत्री रुजेल इचिमिया पनि फाइनल

काठमाडौं — निर्देशक कृषा चौलागाईंको निर्देशनमा बन्ने नयाँ सिनेमा ‘जहाजैमा’ मा लोकप्रिय कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन्। मंगलबार निर्माण टिमले घिमिरेसँग कागजी सम्झौता गर्दै आधिकारिक रूपमा सहभागिता सुनिश्चित गरेको हो।

निर्देशक कृषा चौलागाईं र कलाकार केदार घिमिरे पहिलोपटक एउटै सिनेमामा सहकार्य गर्दै छन्। सिनेमाको निर्माण तयारी अन्तर्गत प्रि–प्रोडक्सन कार्य तीव्र रूपमा अघि बढिरहेको निर्माण पक्षले जनाएको छ।

यूएनए प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस सिनेमाको छायांकन भदौ महिनाबाट सुरु हुनेछ। ‘जहाजैमा’ नेपाल, जापान र फिलिपिन्सका विविध पृष्ठभूमिमा आधारित कथामा निर्माण हुनेछ। फिल्म नेपाल, जापान र फिलिपिन्स तीनवटै देशमा खिचिनेछ।

यसअघि नै सिनेमाका लागि जापानी अभिनेत्री रुजेल इचिमिया फाइनल भइसकेकी छन्। बहुचर्चित कलाकारहरूको सहभागिता रहने मल्टिस्टारर सिनेमाको कथा लेखक अभिमन्यु निरविले तयार पार्दै छन्।

निर्माण टिमका अनुसार सिनेमाले अन्तर्राष्ट्रिय सन्दर्भ र मानवीय सम्बन्धको नयाँ कथा दर्शकसमक्ष प्रस्तुत गर्नेछ।

Share Post on Social media