गर्भ तुहिनु महिलाको दोष होइन भन्ने सन्देश बोकेको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं – “गर्भ तुहिनु महिलाको दोष होइन” भन्ने सामाजिक सन्देश बोकेको नयाँ नेपाली म्युजिक भिडियो सार्वजनिक गरिएको छ। यो भिडियोले आजको समाजमा अझै पनि गलत रूपमा बुझिने र महिलामाथि मानसिक दबाब सिर्जना गरिने संवेदनशील विषयलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

Zero Hours Digital युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा गर्भ तुहिनुका कारणहरूमा उमेर, थाइराइड समस्या, पिसिओएस (PCOS) तथा वंशाणुगत कारणजस्ता चिकित्सकीय पक्षहरूलाई उजागर गरिएको छ। यस्ता अवस्थाको समाधान र उपचार सम्भव छ भन्ने सन्देश भिडियोले दिएको छ।
म्युजिक भिडियोमा गायिका सालिना बीकेको सशक्त स्वर सुन्न सकिन्छ। शब्द सीमा ज्ञवालीले लेखेकी हुन् भने संगीत राजेश कुमार श्रेष्ठको रहेको छ। भिडियोको निर्देशन सुरेश पाण्डेले गरेका हुन्। भिडियोमा सुधिर श्रेष्ठ र बिना राउतको प्रभावशाली अभिनय देख्न पाइन्छ।
भिडियो Zero Hours Digital को प्रस्तुति हो भने निर्माण कमल सुवेदीले गरेका छन्।
सामाजिक र पारिवारिक मानसिकतामाथि चोट पुर्याउने यो म्युजिक भिडियो स्वास्थ्य र चेतनामूलक सन्देश प्रवाहमा सफल हुने अपेक्षा गरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्