अरुण लामाको नयाँ फिल्म ‘तथास्तु’को घोषणा, आध्यात्मिकता र ‘सिमुलेसन थ्योरी’मा आधारित कथा

काठमाडौं – फिल्म ‘डोरी’ का निर्देशक अरुण लामाले आफ्नो दोस्रो निर्देशनको तयारी गरेका छन्। ‘जी. सेभेन प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा बन्ने फिल्मको नाम ‘तथास्तु’ राखिएको छ। निर्देशक लामाले फिल्मको औपचारिक पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरेका हुन्।
सार्वजनिक गरिएको पोस्टरअनुसार फिल्मको छायांकन आगामी वर्ष २०८३ सालको सुरुवातबाट सुरु हुने छ भने प्रदर्शन सन् २०२७ मा हुने बताइएको छ। निर्देशक लामाका अनुसार ‘तथास्तु’ केवल फिल्म नभई कर्म, भाग्य, र आन्तरिक रूपान्तरणको गहिरो कथा हो।
सिमुलेसन थ्योरी र आध्यात्मिक द्वन्द्व
फिल्मले आध्यात्मिक यात्रा, अन्तरद्वन्द्व र सामाजिक यथार्थबीचको द्वन्द्वलाई चित्रण गर्नेछ। विशेषगरी ‘सिमुलेसन थ्योरी’को पृष्ठभूमिमा आधारित यस कथाले दुई लोक — भगवानको लोक र मानिसहरूको लोकबीचको अन्तरसम्बन्धलाई प्रस्तुत गर्नेछ। निर्देशक लामाले भने, “तथास्तु भन्नुको अर्थ हो, जसरी तपाईंले चाहनुभयो, त्यसैगरी होस्। तर के हामीले चाहेका सबै कुरा साँचिकै ठीक हुन्छन् त? के हामी त्यसको लागि तयार छौं त?”

नयाँ र स्थापित अनुहारको संयोजन
फिल्ममा नेपाल र भारतका नयाँ पुस्ताका चर्चित कलाकारहरू, अप्रत्याशित तर सक्षम अनुहारहरू, स्थापित तथा उदाउँदा प्रतिभाहरूलाई स्थान दिइने निर्देशक लामाले जानकारी दिएका छन्। फिल्म नेपाली र हिन्दी दुवै भाषामा निर्माण हुनेछ भने छायांकन नेपाल र भारतमा गरी दुई चरणमा सम्पन्न गरिनेछ।
‘डोरी’बाट ‘तथास्तु’सम्मको यात्रा
निर्देशक लामाको डेब्यु फिल्म ‘डोरी’ले व्यावसायिक सफलता हासिल गर्न नसके पनि दर्शकले मन पराएको उनले बताएका छन्। उनले भने, “डोरी रिलिजको समय प्रजातन्त्र समर्थक आन्दोलनको चपेटामा परेकाले हलहरू सुनसान थिए। जसले हेरे, तिनीहरूले मन पराए तर पर्याप्त दर्शकसम्म पुग्न सकेन।”
निर्देशकको दोस्रो फिल्मको घोषणा संगै अब उनी आध्यात्मिक र दार्शनिक कथावाचनमा केन्द्रित हुँदैछन्। दर्शक र समालोचकहरूका लागि ‘तथास्तु’ नयाँ अनुभूतिको प्रतीक्षा बन्ने सम्भावना देखिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्