‘Zero to 8848’ ट्रेलर सार्वजनिक, झापाबाट सगरमाथा चुचुरोसम्मको साहसिक यात्रा

नेपालकै होचो भू-स्तर झापा कचनकवलदेखि सगरमाथा शिखरसम्मको ५१० किलोमिटर दूरी तय गरिएको साहसिक, ऐतिहासिक र प्रेरणादायी यात्रालाई समेटेर निर्माण गरिएको वृत्तचित्र ‘Zero to 8848’ को ट्रेलर सार्वजनिक गरिएको छ।
यस वृत्तचित्रमा समुद्री सतहभन्दा ५८ मिटर तल पर्ने कचनकवलदेखि सगरमाथा शिखरसम्मको पैदलयात्रा, त्यसभित्रको संघर्ष, प्रकृति र साहसिकताको जीवित चित्रण गरिएको छ।

सोमबार काठमाडौंको नयाँ बानेश्वरस्थित वान सिनेमाजमा ट्रेलर सार्वजनिक गरिएको हो। वृत्तचित्र सञ्चारकर्मी प्रेम बानियाँको अवधारणामा आधारित छ भने निर्देशनमा निरञ्जन पाण्डे र बलराम बुढाथोकी रहेका छन्।
यस यात्रामा स्वयं प्रेम बानियाँ सहभागी भएका छन् भने १८ पटक सगरमाथा चढिसकेका टेण्डी शेर्पा, विश्व साइकल यात्री पुष्कर शाह, प्रसिद्ध पर्वतारोही तथा लेखक कोन्राड एन्कर, आङपासाङ शेर्पा लगायतले पनि आफ्नो यात्राको अनुभव सँगालेका छन्।
यात्रा मार्ग
कचनकवलदेखि सुरु भएको यात्रा इलाम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु हुँदै सगरमाथा शिखरसम्म पुगेको हो। त्यहाँबाट कालापत्थर, बेसक्याम्प, र क्याम्प १–४ पार गर्दै हिलारी स्टेप हुँदै सगरमाथाको चुचुरोसम्म पुगेका छन्।
वृत्तचित्रको उद्देश्य
निर्माण टोलीका अनुसार ‘Zero to 8848’ केवल वृत्तचित्र होइन, नेपाललाई नयाँ कोणबाट चिनाउने अठोट हो।
प्रेम बानियाँ भन्छन्, “समुद्री सतहभन्दा तल रहेको कचनकवलबाट सगरमाथासम्मको यात्रा एक ऐतिहासिक र सम्भावनायुक्त अवधारणा हो। यो यात्राले नेपालको पर्यटन, भूगर्भ विज्ञान र जलवायु परिवर्तन अध्ययनलाई समेत नयाँ उचाइ दिन सक्छ।”
अन्तर्राष्ट्रिय प्रदर्शनको तयारी
निर्देशक निरञ्जन पाण्डेले वृत्तचित्रलाई अमेरिकाका ५० राज्य, युरोप, अष्ट्रेलिया र एसियाका विभिन्न देशमा प्रदर्शन गर्ने योजना रहेको जानकारी दिए। उनले भने, “यसै पदमार्गलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके नेपालले विश्वमै अनुपम पहिचान पाउनेछ।”
प्राविधिक पक्ष
कार्यकारी निर्माता : श्री वाग्ले
सहायक छायाँकार : उमंग शाही
उत्पादन टिम : कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली, जयनारायण शाह
सगरमाथा शिखरको दृश्य छायाँकन : सुजन गुरुङ र दोजी शेर्पा
आफ्नो प्रतिक्रिया दिनुहोस्