Hiphop लाई समाजको ऎना बनाउँदै: नुवाकोटका र्यापर सागर सुनारको प्रेरणादायी यात्रा

काठमाडौं:- नेपाली हिपहपको भूमिमा दिनानुदिन नयाँ स्वरहरू उदाउँदैछन्। यिनै स्वरहरूमध्ये एक हुन् — नुवाकोट लिखु गाउँपालिका–६ थान्सिङका युवा र्यापर सागर सुनार, जसले जीवनको कठिनाइलाई गीतमा ढालेका छन् र समाज परिवर्तनको सपना बोकेका छन्।

२०५४ साल माघ १४ गते जन्मिएका सागरको बाल्यकाल सामान्य गाउँले परिवेशमा बित्यो। सानैदेखि कविता र गीतसंगीतमा रुचि राख्ने उनले समाजका विकृति–विसङ्गतिहरू चिर्न खोज्ने प्रयास कविता लेखनबाट सुरु गरे। बिस्तारै यिनै कविताले हिपहप र्यापको रूप लिन थाल्यो।



नेपालका चर्चित र्यापर यम बुद्धबाट प्रेरणा लिएका सागरले स्कुले कार्यक्रममा र्याप प्रस्तुत गर्न थाले। हिपहप के हो? यसको इतिहास के हो? भन्ने जिज्ञासाले उनलाई अझै खोजीमा लग्यो। जब उनी काठमाडौं आए, जीवनको कठिन यात्रा अझै गहिरो बन्यो।
काम गर्दै, पढ्दै, र्याप गाउने यो युवा कहिलेकाहीं भोकै सुते; पैसा अभावले कलेज टुरसमेत रद्द गर्नु पर्यो। मुर्ति बनाउने कामदेखि होटेलमा भाँडा माझ्नेसम्मका काम गर्दै पनि उनले हिपहपलाई कहिल्यै छोडेनन्।
२०७३ सालमा काठमाडौं प्रवेश गरेका सागरले प्रभात कलेज ग्वार्कोमा ११–१२ कक्षा पढे। पढाइसँगै काम र र्यापलाई पनि सँगसँगै अघि बढाए। उनका र्यापहरूमा समाजका यथार्थ समस्या — जातीय भेदभाव, बलात्कार, गरिबी, बाध्यता — स्पष्ट देखिन्छ।
‘Hiphop समाजको ऐना हो’ भन्ने दृढ विश्वास बोकेका सागरले हालसम्म “संघर्ष”, “अस्मिता गायब”, “किसान”, “आमा”, “बाध्यता” जस्ता गीतहरू सार्वजनिक गरिसकेका छन्। यी गीतहरूले सामाजिक सन्देश दिनुका साथै सकारात्मक ऊर्जा पनि बोकेको उनले बताउँछन्।
आज उनी नेपालटारमा बसोबास गर्दै, संगीतसँगै सुनको काम, अन्तरवार्ता, स्टेज शो र पोडकास्टमा समेत व्यस्त छन्। उनका प्रयासहरूलाई कदर गर्दै उनी “जलजला राष्ट्रिय म्युजिक तथा फिल्म अवार्ड २०८०”, “आदर्श राष्ट्रिय अवार्ड २०८१”, “जिनियस म्युजिक अवार्ड २०८०” र “दोश्रो सांस्कृतिक राष्ट्रिय म्युजिक अवार्ड” मा उत्कृष्ट र्यापरको रूपमा सम्मानित भइसकेका छन्।
सागर सुनार, जसको जीवन एउटा संघर्षको कथा हो — उनी हिपहपमार्फत समाज रूपान्तरणको सपना देखिरहेका छन्। उनको सन्देश स्पष्ट छ — “र्याप केवल रमाइलोको माध्यम होइन, यो परिवर्तनको स्वर हो।”
आफ्नो प्रतिक्रिया दिनुहोस्