पोखरामा ‘महानायक’को तामझाम: राजेश हमालको क्रेज यथावत्, ‘नरसिंहाः अवतार’को प्रचार आक्रामक बन्दै

पोखरा, जेठ २१ –
नेपाली फिल्मका ‘महानायक’ राजेश हमाल अहिले देश दौडाहामा व्यस्त छन् । चलचित्र ‘नरसिंहाः अवतार’ को प्रचारप्रसारलाई थप बलियो बनाउन हमाल फिल्मको टिमसहित मंगलबार पोखरा पुगेका थिए । फिल्म रिलिजको दोस्रो सातासम्म आइपुग्दा पनि हमालको ऊर्जा उस्तै देखिएको छ ।

पोखरामा उनले दिनभर विभिन्न कार्यक्रममार्फत दर्शकहरूसँग प्रत्यक्ष संवाद गरे । बिहान कोटी होममा आयोजित एक कार्यक्रममा हमालले झन्डै १ घन्टा बिताए, जहाँ उनले जीवन, दर्शन, धर्म र मनोरञ्जनबारे आफ्ना विचार साझा गरे । हमालका प्रेरणादायी भनाइले पोखरेली दर्शकहरुलाई गहिरो प्रभाव पारेको थियो।

त्यसपछि हमाल मिडटाउन सिनेमाज र क्यूएफएक्स हल पुगे । हलमा पुगेका हमालले दर्शकहरूसँग फोटो खिचे, स्टेजमा नाचे र चलचित्रबारे प्रतिक्रिया पनि संकलन गरे। दर्शकसँगको आत्मीय भेटघाटले हलको माहोल उत्सवजस्तै बनेको थियो।

फिल्मको प्रचारका लागि पोखरा पुगेको टोलीमा नायक राज कटुवाल, नायिका सनिषा भट्टराई, निर्माता ध्रुव न्यौपाने, बाल कलाकार एभिलिना खड्का, कलाकार रमेश चन्द सोडारी तथा वितरक छविराज ओझा पनि सहभागी थिए। टिमलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो।

‘नरसिंहाः अवतार’ दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको हो। फिल्ममा ध्रुव न्यौपाने, नेम महर्जन, नरेन्द्र महर्जन र दीपक प्रसाद ढकालको लगानी रहेको छ। जेठ ९ गतेदेखि प्रदर्शनमा आएको फिल्मले प्रचारमार्फत लगातार दर्शकको ध्यान तानिरहेको छ।

राजेश हमालको यो सक्रियता नेपाली फिल्म प्रचारको नयाँ उचाइको प्रतीक मानिएको छ।

Share Post on Social media