महानायक राजेश हमालको ‘नरसिंहा अवतार’ ले पहिलो सातामै २ करोड ४ लाखको व्यापार, दर्शकको उत्साहजनक साथ

काठमाडौं – महानायक राजेश हमालको आठ वर्षपछिको कमब्याक चलचित्र ‘नरसिंहा अवतार’ ले नेपाली बक्स अफिसमा उल्लेखनीय उपस्थिति जनाउँदै पहिलो सातामै २ करोड ४ लाख रुपैयाँको व्यापार गरेको छ। फिल्मले धार्मिक पृष्ठभूमिमा आधारित कथावस्तु, दमदार प्रस्तुतिकरण र राजेश हमालको सशक्त अभिनयका कारण दोस्रो सातातर्फ पनि उत्साहजनक व्यापार गरिरहेको छ।
तुलनात्मक रुपमा हलिउड र बलिउड प्रभाव, मल्टिप्लेक्स क्राउडको प्राथमिकता र डिजिटल प्रतिस्पर्धाबीच पनि ‘नरसिंहा अवतार’ ले गरेको कमाइलाई सकारात्मक मानिएको छ। विशेषगरी राजेश हमालको ‘फ्यान बेस’ र उनको अझै पनि यथावत रहेको क्रेज नै फिल्मको आकर्षणको मुख्य कारण बनेको देखिन्छ।

चलचित्रमा राजेश हमालसहित, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, मिस नेपाल २००० उषा खड्गी, दिपा शाही, राजिव जङ्ग बस्नेत, रमेश चन्द सोडारी, राजिव मानन्धर (टार्जन), प्रशान्त ताम्राकार, प्रकाश कुँवर, अमित गिरी, सरोज शाह र मिसेल घिमिरे जस्ता कलाकारहरूको अभिनय रहेको छ। यस्तो स्टार कास्ट नेपाली फिल्ममा निकै कम देखिन्छ, जसले दर्शकलाई हलसम्म ल्याउन ठूलो भूमिका खेलेको छ।
फिल्मले धार्मिक आस्था र सांस्कृतिक मूल्यमान्यतालाई आधुनिक सिनेमाटिक भाषामा प्रस्तुत गरेको छ। दर्शकहरूले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन् भने निर्माण टिमले पनि सामाजिक सञ्जालमार्फत सबै दर्शक, प्रदर्शक, पत्रकार तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै निरन्तर समर्थनको अपेक्षा व्यक्त गरेको छ।
“जय नरसिंहा अवतार! जय नेपाली सिनेमा!” – निर्माण टिम
‘नरसिंहा अवतार’ ले पुराना र नयाँ पुस्ता बीचको सांस्कृतिक सेतु निर्माण गर्दै नेपाली फिल्म क्षेत्रलाई नयाँ प्रेरणा दिएको छ। यस्तो खालको प्रयासले नेपाली सिने उद्योगमा मसला विधा र पौराणिक कथा र एक्सन मिश्रणमा आधारित फिल्महरू बनाउन थप हौसला दिने निश्चित देखिन्छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्