नेपाली सिनेमामा प्रचारप्रसारमार्फत पहिचान बनाउँदै रुबी श्रेष्ठ

नेपाली फिल्म क्षेत्रमा प्रचार–प्रसार र ब्रान्ड निर्माणको माध्यमबाट सक्रिय योगदान दिँदै आएकी रुबी श्रेष्ठ पछिल्ला केही वर्षयता निरन्तर चर्चामा छिन्। करिब आठ वर्षअघि सिने क्षेत्रमा पाइला टेकेकी उनले आफ्नो यात्रा ‘मेरी मामु’ नामक चलचित्रबाट सुरु गरेकी हुन्। त्यसयता ‘इन्टु मिन्टु लन्डनमा’, ‘प्रेम गीत ३’, ‘बेहुली फ्रम मेघौली’ लगायतका चर्चित फिल्महरूसँग उनले नजिकबाट काम गरेकी छिन्।

हालैका दिनमा प्रचारको अग्रपंक्तिमा देखिएकी रुबी, निर्देशक दिवाकर भट्टराई निर्देशित र पल शाह तथा दीपिका प्रसाईं अभिनीत चलचित्र ‘मायावी’ को प्रचारमा विशेष रुपमा संलग्न थिइन्। फाल्गुन १४ गते (महाशिवरात्रि) मा प्रदर्शनमा आएको उक्त चलचित्रको ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुग्न सफल भएको थियो। त्यसैगरी, चैत ८ मा रिलिज भएको निर्देशक सागर खनालको डेब्यू फिल्म ‘११:५५’ मा पनि उनी प्रचारको महत्त्वपूर्ण भूमिकामा थिइन्।

आगामी चलचित्र ‘बलिदान’ को प्रचारप्रसार तथा प्रवर्द्धनको जिम्मेवारी पनि रुबीकै काँधमा छ। दशैँको फूलपातीमा प्रदर्शन हुने यो चलचित्र ‘१२ गाउँ’ बाट चर्चामा आएका समीर भट्ट को दोस्रो चलचित्र र चलचित्र जगतमा आफ्नो छुट्टै पहिचान बनाएका सन्तोष सेनको हो। सम्भवतः यो चलचित्र हालसम्मकै ठूलो बजेटमा निर्माण भएको फिल्म हो, जसको प्रचार संयोजन रुबीले सम्हालिरहेकी छिन्।

रुबी श्रेष्ठको सिनेमामा उपस्थिति केवल पर्दामै सीमित छैन। उनी पर्दामार्फत निर्माण पक्षको सन्देश दर्शकसम्म पुर्‍याउने रणनीतिक योजनाकारका रूपमा पनि परिचित छिन्। आफ्नो करिअरको सुरुवातदेखि नै उनले आसुसेन प्रोडक्सनसँग सहकार्य गर्दै आएकी छन् र निर्देशक सन्तोष सेनलाई प्रेरणाका स्रोतका रूपमा लिने गरेकी छिन्। ‘प्रेम गीत ३’ को सफलताले उनलाई अझ बलियो आत्मविश्वास दिएको उनी बताउँछिन्।

उनले आफ्नो सफलताको श्रेय परिवारलाई दिन्छिन्। विशेषगरी आफ्ना भाइ आभास श्रेष्ठको साथ, सल्लाह र साथसाथीका कारण हरेक निर्णय सजिलो भएको उनी बताउँछिन्। रुबी सरल स्वभाव, स्पष्ट सोच र मिहिनेतमा विश्वास राख्ने व्यक्तित्वकी रूपमा परिचित छिन्। ‘काम कुनै पनि सानो हुँदैन, इमान्दारी र लगनशीलता नै सफलता प्राप्त गर्ने मूल चाबी हो’ भन्ने उनको विश्वास व्यवहारमै झल्किन्छ।

Share Post on Social media