चलचित्र ‘सिटामोल’ साउन २३ गतेदेखि देशभर प्रदर्शनमा

काठमाडौं:-नेपाली फिल्म उद्योगमा एक पछिपछि अर्को सशक्त विषयमा आधारित चलचित्रहरू निर्माण भइरहेका बेला, माओवादी द्वन्द्वकालको कथा बोकेको चलचित्र ‘सिटामोल’ साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। निर्देशक राजबहादुर सानेको निर्देशनमा बनेको चलचित्रले युद्धको चपेटामा परेका आम नागरिकको पीडा, प्रेम र सम्बन्धको कथालाई सिनेमाको माध्यमबाट उजागर गर्ने प्रयास गरेको छ।

चलचित्रमा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन्। सार्वजनिक गरिएको पोस्टरमा सौगात मल्ललाई बैंसाखीको सहारामा रातो भाले समातेर उभिएको देखिन्छ भने बेनिशा हमाल बालकलाई काखमा लिई मुस्कुराइरहेकी छन्, जसले उनीहरू श्रीमान-श्रीमतीको भूमिकामा रहेको स्पष्ट संकेत गर्छ। सौगातले युद्धमा घाइते एक लडाकुको भूमिका निर्वाह गरेका छन् भने बेनिशाले संघर्षरत पत्नीको।

राजबहादुर साने र प्रदीप भण्डारीको लेखनमा आधारित चलचित्र ‘सिटामोल’ले द्वन्द्वको समयमा घरपरिवारमा परेको असर र आम मानिसको मनोविज्ञानलाई चित्रण गर्नेछ। चलचित्रको कथा देशको ऐतिहासिक कालखण्डसँग जोडिएको छ, जहाँ प्रेम, त्याग र पीडा एकसाथ बग्छन्।

चलचित्रमा सौगात र बेनिशाका साथसाथै लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञान मल्ल, पवन भट्टराई, काजल भुजेल, तथा बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको समेत अभिनय रहेको छ।

तुलसी देवी फिल्म्स प्रा.लि. र जुन्तारा फिल्म्सको संयुक्त ब्यानरमा निर्मित यो चलचित्रमा भूगोल कुमार कार्की र विकास राज जोशी निर्माता छन्। अप्सरा नेपाली, अजय मल्ल, कुमार केसी कार्यकारी निर्माता छन् भने गंगाराम श्रेष्ठ सह-निर्माता।

चलचित्रको छायांकन सिन्धुलीमा २५ दिनमा सम्पन्न गरिएको हो। दिव्य सुवेदीको छायांकन, बाबुल गिरीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन तथा देव महार्जन र शंकर महार्जनको द्वन्द्व निर्देशनले चलचित्रलाई प्राविधिक रुपमा बलियो बनाएको छ।

बेनिशा हमालका लागि यो वर्ष निकै व्यस्त हुने देखिन्छ, किनकि साउन २३ मै ‘सिटामोल’ सँगै उनको अर्को चलचित्र ‘मोहर’ पनि प्रदर्शनमा आउँदैछ। त्यसैले एकै दिन दुई फरक स्वादका चलचित्रमार्फत उनी दर्शकमाझ आउनेछिन्।

‘सिटामोल’ द्वन्द्वकालीन यथार्थतालाई भावनात्मक ढंगले प्रस्तुत गर्ने कोशिस हो। संवेदनशील विषयवस्तुमा आधारित चलचित्र भएकाले दर्शकहरूले गहिरो अनुभूति र सामाजिक सन्देश दुबै अनुभव गर्ने अपेक्षा गरिएको छ।

Share Post on Social media